भत्ता पुगेन सांसदजी, अझ बढाउनोस् !
आफूखुसी मनग्गे तलबभत्ता बढाएर लाख कटाएको खबर सुनेर हामी जनताहरु गदगद भएका छौं । यो महान खुसियाली हामीले गाउँ, टोल, झोपडी, छाप्रो, पाल, ओडार कताबाट हुन्छ दिपावली गरीगरी मनाएका छौं । यो योगान्तकारी उपलब्दीको नेपाली जनता जोडदार स्वागत र समर्थन गर्दछ । विनाशकारी भूकम्पले आफ्नो घरबास सोत्तर पार्दा हामीलाई खासै चिन्ता र दु:ख भएन । यस्ता घरहरु ठड्याउंला नि त एकदिन भनेर मन बुझाइन्थ्यो तर संसदहरुको घरबास होला कि नहोला भन्ने चिन्ताले भतभती पोल्थ्यो । आफु त रुखो सुखो खाइन्त्यो तर सांसदहरुले के खालान भनेर मन बेचैन हुन्थ्यो ।
अहिले सांसदहरुले तलप बढाए रे भनेको सुन्दा बल्ल चैनको सास मिलेको छ । अब सांसदहरुको नि हातमुख जोरिने भो भनेर मनमा आनन्द आएको छ । बरा ! हामीहरुको सेवा गर्दा गर्दै आफ्नो तलब भत्ता समेत बढाउन भुलेका रहेछन । बल्ल सम्झीएछन् ढुक्क भयो । आखिर सांसद रे पो देश रहन्छ । देश रहे पो जनता रहन्छन । हामीलाई जोगाउन आफ्नो तलब भत्ता बढाउने संसदहरुलाई तारिफ मात्र पो कुन शब्दले गर्ने होला ? हाम्रै लागी भनेर उहाँहरुले त्यत्रो भुँडी हुँदा हुँदै पनि डाइटिंग गर्नुभएको छैन । हाम्रै लागि भनेर उहाँहरुले अझै खान छोड्नु भएको छैन । ठिक्क खाएर हामीजस्तै स्वस्थ बन्ने चाहना उहाँहरुलाई चै नहोला र ? तर के गर्नु नखाएको देखेर जनतालाई चिन्ता पर्ला भनेर उहाँहरुले कहिल्यै खान छोड्नु भएको छैन । हाम्रै लागी क्षमता भन्दा बढी खाइ अनेकै रोगको सिकार भएर देश विदेश उपचार गराउन जानुपरेको छ । नचाहादा नचाहदै नि ढुकुटी रित्याउनु परेको छ ।
तलब भत्ता बढाए नि चाहेजती पर्याप्त नबढाएको देख्दा साह्रै खिन्न लाग्छ । सयौ काम सित्तैमा गरेको देख्दा मन कुटुक्क काटेर आउछ । अझै पनि ख्वाक्क खोकेको खोकी भत्ताको व्यवस्था गरेका छैनन् । कहिलेकाही हामीलाई देखेर मुसुक्क हाँसदा लाग्ने मुसुक्क भत्ताको व्यवस्था अझ भएको छैन । हामीलाई पिर पर्दा रोएको जस्तो गर्न रुन्चे भत्ता अझै छैन । खाँदा खेरीन हात चाटेको, टेस पर्दा जिप्रो पडकाउने, थाल चाट्ने भत्ता नै छैन । खाएर दाँत कोट्याउने मात्र होइन, पुगेर डकार्ने भत्ताको व्यवस्था छैन । यसरी सधै फिरिमा डकारेर कतिदिन चल्छ सांसदजी ? हामी जनतालाई फिटिक्कै चित्त बुझ्या छैन ! भत्ता पुगेन सांसदजी, अझ बढाउउनोस् !
Comments
Post a Comment